
- रसुवाको बाढीमा हराइरहेका पाणिनी गाउँपालिकाका शिक्षक नारायण बहादुर थापाको शव नवलपरासीमा फेला परेको छ।
- परिवारले पोखरास्थित गण्डकी अस्पतालमा पुगेर शवको सनाखत गरेका छन्।
- शिक्षकको निधनको खबरले अर्घाखाँचीमा शोक छाएको छ भने रसुवा बाढीमा अझै केही व्यक्ति बेपत्ता छन्।
अर्घाखाँची । पाणिनी गाउँपालिका – ७ निवासी शिक्षक नारायण बहादुर थापाको शव नवलपरासीको देवचुली क्षेत्रमा फेला परेको छ। रसुवामा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका थापाको सुरक्षाकर्मीले खोजी गर्ने क्रममा शव फेला पारेका हुन्।
थापा रसुवाको बेत्रावती बजारस्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। भदौ १० गते रसुवामा आएको भीषण बाढीपछि उनि सम्पर्कविहीन भएका थिए।
खोजीका क्रममा नवलपरासीको देवचुली क्षेत्रमा फेला परेको शव गण्डकी अस्पताल, पोखरामा राखिएको थियो। परिवार तथा आफन्तले शव पहिचान गर्ने क्रममा भदौ १२ गते साँझ ५ बजे नारायण बहादुर थापाको शव भएको पुष्टि भएको जनाइएको छ।
थापाको निधनको खबरसँगै पाणिनी गाउँपालिका–७ लगायत अर्घाखाँचीमा शोक छाएको छ। रसुवाको बाढीमा परी ठूलो जनधनको क्षति भएको थियो भने बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा मानिसहरू सम्पर्कविहीन भएका थिए।
अर्घाखाँचीबाट रोजगारी तथा भ्रमणको शिलशिलामा रसुवा पुगेका थापा सहित ९ जना बेपत्ता भएका थिए ।
