कपिलवस्तु : हरितालिका तीजको भीडभाडको मौका छोपेर तौलेश्वरनाथ महादेव मन्दिरमा दर्शनार्थी महिलाहरूका सुनका गरगहना चोरी गर्ने भारतीय महिलाहरूको गिरोहका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार सोमबार दिउँसो करिब पौने २ बजे मन्दिर परिसरमा सुनको सिक्री र लकेट चोरी गरी भाग्ने प्रयास गरिरहेका पहिला ६ जनालाई सिसिटिभीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। अनुसन्धानका क्रममा सोही गिरोहका थप २ जनालाई पक्राउ गरेपछि पक्राउ पर्नेको संख्या ८ पुगेको हो।
पक्राउ परेकाहरूको साथबाट चोरी गरिएका सुनका गहना तथा केही नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार उनीहरू भारतको सीमावर्ती खुनुवा नाका हुँदै नेपाल प्रवेश गरी दर्शनार्थीको भेषमा मन्दिर पुगेका थिए। प्रहरीका अनुसार गत साउन २५ गतेको बोलबम काँवर जलयात्राका क्रममा समेत यही समूहले मन्दिरमा चोरी गरेको सिसिटिभी फुटेजमा देखिएको थियो।
पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश, महाराजगञ्ज जिल्ला प्रतापबल पोस्ट, समदेवराह थानाकी २५ वर्षीया उषादेवी हरिजन, गोरखपुर जिल्ला चौरीचौरा थाना सरदारनगर पोस्टकी ३२ वर्षीया गीतादेवी चमार, सोही ठाउँकी ३५ वर्षीया रीता चमार, सिद्धार्थनगर पोस्ट सोहरथगढ थाना करहियाकी ३५ वर्षीया उषादेवी चमार, सिद्धार्थनगर थाना नुक्साबजारकी २४ वर्षीया शीला हरिजन, गोरखपुर क्याम्पियरगञ्ज थाना पकडीदुसवाकी अनितादेवी हरिजन, सिद्धार्थनगर थाना उस्काबजार लक्क्षमनपुर बस्ने २० वर्षीया काजल हरिजन र उत्तर प्रदेश महाराजगञ्ज थाना फरेन्दा बस्ने ५० वर्षीया राजमति चमार रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका सबै ८ जनालाई हिरासतमा राखी घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।













