
- रसुवामा गएको बाढी र पहिरोका कारण काम र भ्रमणको सिलसिलामा त्यहाँ पुगेका अर्घाखाँचीका नौ जना सम्पर्कविहीन भएका छन्।
- बाढीका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका गरी कुल १४२ जना नागरिक हालसम्म सम्पर्कमा आउन सकेका छैनन्।
- प्रदेश सरकारले सम्पर्कविहीनहरूको खोजी, उद्धार र राहतका लागि सुरक्षा निकायसँग समन्वय गरी कार्यलाई तीव्रता दिएको छ।
अर्घाखाँची । रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि अर्घाखाँचीबाट काम तथा भ्रमणका सिलसिलामा रसुवा पुगेका नौ जना सम्पर्कविहीन भएका छन्।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी दिवसबहादुर जिसीका अनुसार बाढी आएपछि रसुवाको विभिन्न क्षेत्रमा रहेका उनीहरू सम्पर्कविहीन भएका हुन्। आफन्तहरूले उनीहरूको खोजी तथा उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन्।
सम्पर्कविहीन हुनेमा रसुवाको टिमुरेमा स्काभेटर चालकका रूपमा कार्यरत पाणिनी गाउँपालिका–३ धावाका २९ वर्षीय प्रशान्त रेश्मी, सडक निर्माणको काममा रहेका सन्धिखर्क नगरपालिका–८ पकलेका २२ वर्षीय सुमित मल्ल ठकुरी, रसुवा घुम्न गएका मालारानी गाउँपालिका–५ बाँगीका ४० वर्षीय नारायण पन्थी र भूमिकास्थान नगरपालिका–९ काप्लेकी ४६ वर्षीया मनिकला राना रहेका छन्।
त्यस्तै, रसुवामा इन्जिनियरका रूपमा कार्यरत शितगंगा नगरपालिका–४ का सुबोध बेल्बासे, पाणिनी गाउँपालिका–७ घर भई रसुवामा शिक्षकका रूपमा कार्यरत नारायण थापा, रसुवा घुम्न गएकी भूमिकास्थान नगरपालिका–९ काप्लेकी तारा राना, भूमिकास्थान नगरपालिका–१० का लुकबहादुर क्षेत्री र रसुवामा इन्जिनियरका रूपमा कार्यरत भूमिकास्थान नगरपालिका–८ लात्तेबजारका ३९ वर्षीय कृष्णबहादुर श्रेष्ठ पनि सम्पर्कविहीन रहेको डीएसपी जिसीले जानकारी दिए।
लुम्बिनीका १४२ जना अझै सम्पर्कविहीन
यसैबीच, रसुवामा आएको बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट काम तथा भ्रमणका क्रममा रसुवा पुगेका १४२ जना अझै सम्पर्कविहीन रहेको प्रदेश सरकारले जनाएको छ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रि कार्यालयका अनुसार १४२ जना सम्पर्कबाहिर रहेका छन।
सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै रुपन्देहीका २५ जना छन्। त्यस्तै दाङका १५, रोल्पाका १४, अर्घाखाँचीका ९, बर्दियाका ८, गुल्मीका ७, नवलपरासी पश्चिमका ६, पाल्पाका ९, प्युठानका ९, कपिलवस्तुका ४, रुकुमपूर्वका १५ र बाँकेका १६ जना रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।
सम्पर्कविहीनमध्ये अधिकांश जलविद्युत् आयोजना, सडक निर्माण तथा अन्य कामका लागि रसुवा पुगेका थिए। केही सरकारी सेवामा कार्यरत व्यक्ति तथा भ्रमणका लागि रसुवा पुगेकाहरू पनि सम्पर्कबाहिर रहेको जनाइएको छ।
मन्त्रालयको विपद् व्यवस्थापन शाखाले सम्पर्कमा आएका व्यक्तिहरूको विवरण नियमित रूपमा अद्यावधिक भइरहेको जनाएको छ। थप विवरण प्राप्त हुने क्रम जारी रहेकाले सम्पर्कमा आउने व्यक्तिको सङ्ख्या बढ्न सक्ने मन्त्रालयको भनाइ छ।
खोजी तथा उद्धारलाई प्राथमिकता
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विपद्मा परी सम्पर्कबाहिर रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
प्रदेश सरकारले सम्पर्कविहीन नागरिकको खोजी, उद्धार तथा प्रभावितको राहतका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र अन्य सरोकारवाला निकायसँग समन्वय गरिरहेको जनाएको छ।
सम्पर्कविहीन व्यक्तिहरूको अवस्था यकिन गर्न प्राप्त सूचनाका आधारमा विवरण अद्यावधिक गर्ने तथा खोजी तथा उद्धारका लागि आवश्यक समन्वय भइरहेको प्रदेश सरकारले जनाएको छ।
