अर्घाखाँची । अर्घाखाँचीको पाणिनिमा पालिका स्तरीय डान्स एण्ड सिङ्गिङ आइडल हुने भएको छ ।
मनकामना युवा क्लब पाणिनि – ५ मैदान, अर्घाखाँची र के. बी. डान्स स्टुडियो बुटवलको आयोजनामा पाणिनि डान्स एण्ड सिङ्गिङ् आइडल हुन लागेको हो ।
गाउँपालिकाका विभिन्न ठाउँहरूमा रहेका बालबालिका तथा युवाहरूको गायन एवं नृत्य गर्ने प्रतिभाको पहिचान गरी आधारभूत सीपहरू सिकाउने साथै, पालिकाभित्र रहेका अनाथ, अपाङ्ग तथा असहायहरूको सहयोगार्थ र लागूऔषधविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो आइडल आयोजना गरिएको आयोजक मनकामना युवा क्लबका सहसचिव कमल घिमिरेले जानकारी दिए ।
घिमिरेले पाणिनी डान्स एण्ड सिङ्गिङ आइडल –२०८० मा सहभागी हुन इच्छुक पाणिनि गाउँपालिका भित्रका नृत्य तथा गायन क्षेत्रमा रुचि हुने मंसिर २५ गतेभित्र आफ्नो नाम दर्ता गर्न अनुराेध गरेका छन् ।
घिमिरेका अनुसार मंसिर २५ गतेसम्म नाम दर्ता, २७ गतेबाट टोलका माध्यमिक विद्यालयहरूमा अडिसन र फाइनल पुस १५ गते गर्ने कार्यतालिका तय भएको छ । आइडलमा प्रथम दोस्रो र तेस्रो र सान्त्वनाले गायक र डान्स तर्फ छुट्टाछुट्टै क्रमशः १५, १०, ५ र ३ हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् ।
उत्कृष्ट १/१ जनाले निःशुल्क म्युजिक भिडियोको अवसर रहेको अर्को आयोजक संस्था के. बी. डान्स स्टुडियो बुटवलका प्रबन्धक बिक्कि परियारले जानकारी दिए । कार्यक्रमकाे मिडिया पार्टनर समाचारपाेष्ट डटकम रहेकाे छ ।
