कथा: त्यो दिन !

त्यो दिन, मङ्सिरको महिना थियो। चिसो हावाले बिहानै गाला छोएको थियो। आकाश हल्का सुनौलो थियो र खेतका धानहरुमा हिउँदे घाम टल्किरहेको थियो। म बिहानको खानपिन सकेर ढोकाबाहिर निस्कँदै थिएँ, त्यति नै बेला गाउँकै एकजना दाजु आएर भने, “भाइ, सँगै हिँड न त, आज भेटघाटको कुरा छ।”

म केही अचम्म मान्दै, तर केही बुझेर पनि, उनीसँगै खेतको बाटो हुँदै हिँड्न थालेँ। खेतको बाटो हिँड्दा पैतालामा हल्का चिसो लाग्थ्यो, तर त्यो बाटो मेरो लागि नयाँ थिएन—संस्मरण बोकेको। मनभित्र हल्का गडबडी थियो। आज म एउटा अपरिचित युवतीलाई पहिलोपटक भेट गर्न जाँदै थिएँ—सम्भावित विवाह सम्बन्धको सुरुवातका रूपमा।

मैले गाउँकै कलेजमा पढाउन थालेको एक वर्ष भइसकेको थियो। पढाउने कामसँगै गाउँको समाज, मानिस र समयसँग जोडिन थालेको थिएँ । एक शिक्षकको रूपमा म आफ्नो काममा सन्तुष्ट थिएँ, तर जीवनको अर्को अध्याय—साथी, संगी, जीवनसाथीबारे सोच्ने बेला आएको थियो।

छिमेकी गाउँको एक चिनजानको घरमा हामी पुगेका थियौं । त्यहाँ कुराकानी भइरहेकै बेला उनका बाबुसँग हाम्रो भेट भयो। उनको बाबुको व्यवहार सरल र शालीन अनि भद्र थियो । गफगाफ हुँदै उहाँले भन्नुभयो, “छोरी घरमै छ, केही दिनअघि बुटवलबाट बिदामा घरमा आएकी हो। जाऔं, घरमै पुगेर कुराकानी गरौंला ।” हामी तिनैजना सँगै उनको घरतर्फ लाग्यौं।

खेतको बाटो पार गरेर, गोरेटो समातेर हामी त्यहाँ पुग्यौं। उनको घरको आँगनको डिलमा गुन्द्री बिछ्याइएको थियो। हामी त्यही गुन्द्रीमा बस्यौं। आँगन सफा थियो, तुलसीको मठको छेउमा रातो फुल फुलेका थिए। घरको त्यो सुन्दर संरचना वरिपरिको वातावरण —सबैमा प्रशस्त आत्मीयता थियो।

हामी गुन्द्रीमा बसेर मौसम, गाउँको अवस्था, कलेजको अनुभव आदिबारे कुरा गरिरहेका थियौं। उनी पनि त्यहीँ आगनमा बसिरहेकी थिइन् । हामी पुगेको केही समयमै उनी आफ्नो पढ्ने कोठातर्फ लागिन् । उनी कुर्था सुरुवालमा थिइन्—सादा तर सफा। कपडामा कुनै तडकभडक थिएन, गहनामा कुनै अनावश्यक झिल्को थिएन, तर त्यो सादगीभित्र सौन्दर्य थियो । उनको पाइला मन्द थियो। अनुहारमा लाज मिसिएको थियो। उनी लजाएकी थिइन्, तर त्यो लाज बनावटी थिएन—स्वाभाविक थियो।

कुरा गर्ने शिलशिलामा उनलाई भेट्ने अनुमति पाएँ ।म सरासर उनको पढ्ने कोठामा गएँ । उनी बोलेकी थिइनन् अझै, तर उनको मौन उपस्थितिले केही शब्दहरूभन्दा गहिरो कुरा गरिरहेको थियो। केहि उनका प्रश्नहरु थिए व्यक्त अनि अव्यक्त, मैले सहजै महशुस गरिरहेको थिएँ ।

मैले सोधेँ, “अहिले के गर्दै छौ ?” उनले शिर झुकाउँदै, हल्का स्वरमा उत्तर दिइन्, “बुटवल बहुमुखी क्याम्पसमा B.Ed को पहिलो वर्षमा भर्ना भएकी छु। अहिले दुई–चार दिनको लागि घर आएकी।”

त्यो उत्तर छोटो थियो, तर त्यो स्वरमा लाजसँगै दृढता पनि मिसिएको थियो। त्यो उत्तरले मलाई भित्रसम्म छोयो। उनी केवल पढिरहेकी थिइनन्, आफूभित्र एक बाटो पहिल्याइरहेकी थिइन्। मैले भनें, “म अहिले गाउँकै कलेजमा पढाउँछु। अहिले एक वर्ष भयो।” सायद यो कुरा उनलाई पहिले नै थाहा थियो । उनले आश्चर्य मिश्रित मुस्कान दिइन्।

त्यसपछि हामीबीच चिया र खाजाको प्राथमिकतादेखि पढाइको रुचिसम्म, समाजको रूपान्तरणदेखि गाउँको सम्झनासम्म कुराकानी भयो। उनले धेरै कुरा थोरै शब्दमा प्रकट गरिरहेकी थिइन्। उनी लजाएकी थिइन्, तर प्रत्येक उत्तर सोचेर दिने खालकी थिइन्। त्यो भेट गहिरिँदै गयो।

बाहिर फर्कंदा घाम अलिक ढलिसकेको थियो। हावा अझ चिसो लाग्न थालेको थियो। हामीले बिदा माग्यौं। ढोकामा उनी फेरि देखा परिन्। लाजले भरिएको एउटा सानो मुस्कान, नमस्कारका लागि अलिकति उठेको हात, र फेरि नजर झुकाउनु—त्यही क्षणले मेरो हृदयमा स्थायी ठाउँ बनायो ।

त्यो दिन… त्यो लाज, त्यो उनको सामान्य खालको पहिरन, त्यो सादगी, त्यो मिठास—सबै मैले आत्मसात् गरें। त्यो भेट लघु थियो, तर प्रभाव दीर्घकालीन। त्यो दिन म केवल हेर्न गएकै थिइनँ, म उनलाई बुझ्न गएका थिएँ। र उनी… मलाई अचाक्ली गहिरो लागेकी थिइन्।

त्यसपछि केही दिनसम्म म उनीसँगको त्यो भेटलाई मनमनै दोहोर्‍याउँदै हिँडेँ। पढाउँदा पनि कक्षा छेउको झ्यालबाट बाहिर हेर्दा, मनमा झझल्को आउँथ्यो। त्यो आँखाभेट, त्यो मौन मुस्कान, त्यो थालमा राखिएको सुन्तला अनि मौसमको रसिलो मिठास—सबै एकसाथ फर्किन्थे मनभित्र।

अचानक केही दिनपछि छिमेकी दाजु आएर भने, “त्यो दिनको भेटबारे के लाग्यो?” म थोरै शब्दमा आफुलाइ मन परेको संकेत गरिरहेको थिएँ । उनले पनि मेरा आँखाबाट उत्तर पढिसकेका थिए। म त्यस दिनका शब्दभन्दा गहिरा अनुभूतिको संसारमा डुबिसकेको थिएँ।

केही दिनपछि उहाँहरूको घरबाट खबर आयो—”छोरीले पनि राम्रो प्रतिक्रिया दिएकी छिन्। परिवार पनि सहमत छ।” त्यो सुनेपछि मनको धड्कन नयाँ लयमा बज्न थाल्यो। अब यो सम्बन्ध केवल औपचारिकता होइन, साँच्चिकै यात्राको सुरुवात हुने संकेत थियो ।

त्यो दिन, जुन एक सादा भेट थियो, आज मेरो जीवनको सबैभन्दा अनमोल स्मृति बनेको छ। अहिले हामी सँगै हिँडिरहेका छौं—उनी शिक्षिका बनिसकेकी छिन् , म पनि मेरा काममा रमाइरहेको छु। कहिलेकाहीँ हामी आफ्नै घरको आँगनमा, गुन्द्रीमा बसेर चिया पिउँछौं। अनि हाँस्दै सम्झन्छौं—“त्यो दिन…”

आज पनि त्यो दिनको सम्झनामा मिठास बाँकी छ। जीवनका असंख्य भेटमध्ये एउटा यस्तो भेट, जसले जीवनको दिशा मोडिदिन्छ—त्यो नै थियो त्यो दिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?