
- अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा खसेको पहिरो हटेको छ।
- शितगंगा नगरपालिकामा खसेको पहिरो चार घण्टाको प्रयासमा हटाइएको हो।
- सडक सुचारु भए पनि बर्षाका कारण सावधानी अपनाउन आग्रह गरिएको छ।
अर्घाखाँची । पहिरोका कारण अवरुद्ध भएको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड करिब चार घण्टापछि सञ्चालनमा आएको छ।
शितगंगा नगरपालिका–१२ स्थित कोन्द्रे खोलामा आज बिहान करिब ९ बजे माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो।
सडक अवरुद्ध भएपछि अवरोध हटाउन जेसीबीसहित प्रहरी जनशक्ति परिचालन गरिएको थियो। प्रहरीका अनुसार पहिरो हटाएपछि दिउँसो १ बजेदेखि सडक सुचारु भएको हो।
सडक सञ्चालनमा आएसँगै गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा रोकिएका सवारीसाधन तथा यात्रुहरूलाई आवागमनमा सहज भएको छ।
वर्षायामका कारण सडकखण्डमा पहिरो खस्ने जोखिम कायमै रहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।













