बजेट र दुई महत्वपूर्ण विधेयक सर्वसम्मत पारित गर्दै सकियो पाणिनि गाउँपालिकाको नवौँ अधिवेशन

समाचार सारांश
Auto Generated by AI
  • पाणिनि गाउँपालिकाको नवौँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि ७१ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित गरेको छ।
  • सभाले बजेटसँगै आर्थिक र विनियोजन विधेयक पारित गर्दै कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार पारेको छ।
  • उत्कृष्ट कार्यसम्पादन गर्ने वडा नं ७, ८ र पशु सेवा शाखालाई पुरस्कृत गरिएको छ भने कर्मचारीको निधनमा शोक प्रस्ताव पारित गरिएको छ।

अर्घाखाँची । आगामी आर्थिक वर्षको बजेटदेखि दुई महत्वपूर्ण विधेयक पारित गर्दै पाणिनि गाउँपालिकाको नवौँ गाउँसभा अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनले ७१ करोडभन्दा बढीको बजेट सर्वसम्मत पारित गर्नुका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने वडा र विषयगत शाखालाई पुरस्कृत गरेको छ। गाउँसभाले पाणिनि गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित ७१ करोड ३७ लाख २४ हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो।

गत असार १० गते गाउँपालिका उपाध्यक्ष नर्मदा गौतम पौडेलले गाउँसभामा प्रस्तुत गरेको बजेटमाथि सभामा छलफल भएको थियो। छलफलपछि गाउँसभाका सदस्यहरूले प्रस्तावित बजेटलाई सर्वसम्मत रूपमा अनुमोदन गरेका हुन्।

आर्थिक र विनियोजन विधेयक पनि सर्वसम्मत

गाउँसभाले उपाध्यक्ष पौडेलद्वारा स्वीकृतिका लागि प्रस्तुत गरिएका दुई महत्वपूर्ण विधेयकसमेत सर्वसम्मत रूपमा पारित गरेको छ।

सभाले आर्थिक विधेयक–२०८३ र विनियोजन विधेयक–२०८३ सर्वसम्मत पारित गरेको हो। बजेटसँगै यी विधेयक पारित भएपछि आगामी आर्थिक वर्षका नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि आवश्यक कानुनी आधार तयार भएको छ।

वडा नं. ७ र ८ सहित पशु सेवा विकास शाखा पुरस्कृत

नवौँ अधिवेशनमा उत्कृष्ट कार्यसम्पादन गर्ने वडा कार्यालय तथा विषयगत शाखालाई गाउँपालिकाले पुरस्कृतसमेत गरेको छ।

आर्थिक वर्ष २०८२/८३ मा सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने वडा नं. ७ को कार्यालय पुरस्कृत भएको छ। त्यस्तै, चालु आर्थिक वर्षको जेठ मसान्तसम्म वार्षिक योजना तथा कार्यक्रम सबैभन्दा धेरै सम्पन्न गर्ने वडा नं. ८ को कार्यालय र विषयगत शाखातर्फ उत्कृष्ट कार्यसम्पादन गर्ने पशु सेवा विकास शाखालाई गाउँपालिकाले पुरस्कृत गरेको हो।

गाउँपालिकाले कार्यसम्पादनका आधारमा वडा तथा शाखालाई पुरस्कृत गर्दा सेवा प्रवाह, योजना कार्यान्वयन र राजस्व सङ्कलनमा थप प्रतिस्पर्धा तथा प्रभावकारिता बढ्ने अपेक्षा गरिएको छ।

कर्मचारी घिमिरेको निधनमा शोक प्रस्ताव

यसैबीच, गाउँपालिकाका योजना सुपरभाइजर लक्ष्मीकान्त घिमिरेको निधनप्रति गाउँसभाले दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। सभामा दिवङ्गत घिमिरेको सम्झनामा मौनधारणसमेत गरिएको थियो।

गाउँसभाको शून्य समयमा सदस्यहरूले उठाएका विभिन्न प्रश्न तथा विषयमा गाउँसभा अध्यक्ष एवं गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले जवाफ दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?